धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बिरामीलाई उपचार खाेज्दा जति गाह्राे छ त्याे भन्दा सास्ति हिडडुल गर्न हुने गरेकाे छ । उपचारसेवा एक डाेर प्रणाली नहुँदा र त्यसैमा जथाभावी सवारी साधन पार्किङ गरिदा एक झ्याल अर्काे झ्याल जान सास्ती हुने भएकाे हाे ।
सुदूरपश्चिमकै प्रमुख सरकारी रेफरल अस्पतालका रूपमा रहेको सेतीमा दैनिक ठूलो संख्यामा बिरामी तथा सेवाग्राही आउने गरेका छन्। तर, अस्पताल परिसरमा पर्याप्त र व्यवस्थित पार्किङस्थल नहुँदा अस्पतालभित्रका खाली स्थान, पैदल हिँड्ने बाटो तथा सडक छेउसम्म सवारीसाधन पार्किङ गर्ने गरिएको छ। पार्किङको अव्यवस्थाले अस्पताल परिसरमा भीडभाड बढाउनुका साथै आवतजावतमा समेत समस्या हुने गरेको छ। सवारीसाधन जथाभावी पार्किङ हुँदा पैदल यात्रु तथा बिरामीलाई हिँडडुल गर्नसमेत असहज हुने गरेको छ।
अस्पताल परिसरभित्र सवारीसाधनको भीडका कारण दुर्घटनाको जोखिम रहेकाे भन्दै उनीहरूले पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि अस्पताल प्रशासनसँगै स्थानीय र प्रदेश सरकारले समेत तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्। अस्पताल प्रशासनका अनुसार करिब चार बिघा क्षेत्रफलमा अस्पताल परिसर फैलिएको भए पनि उपलब्ध जमिनलाई व्यवस्थित रूपमा प्रयोग गर्न सकिएको छैन। पुराना भवन जीर्ण बन्दै जानु, केही नयाँ भवन निर्माण तथा सञ्चालनको प्रक्रियामा रहनु र सञ्चालनमा रहेका भवनबीचको क्षेत्र व्यवस्थित नहुँदा पार्किङका लागि पर्याप्त ठाउँ छुट्याउन समस्या भएको हो।
अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीको संख्या बढ्दै गएकाले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राख्दै छुट्टै व्यवस्थित पार्किङस्थल निर्माण तथा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। पार्किङको उचित व्यवस्थापन नहुँदा अस्पताल परिसरको भीडभाड मात्र नभई पैदल आवतजावत गर्ने बाटो र सडकसमेत प्रभावित हुँदै आएको छ।