दार्चुलामा पहिराेले थुनिएकाे नदी बग्न थाल्याे, १० परिवार सुरक्षित स्थानमा सारिए

धनगढी । अपिहिमाल गाउँपालिका–१ भण्डारस्थित चौलानी नदीमा पहिरो खस्दा केही घर तथा खेत बगाएको छ। नदी थुनिएपछि उत्पन्न जोखिमलाई मध्यनजर गर्दै पहिरो परेको तलको स्थानमा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिएका छन्।

अध्यक्ष बोहराका अनुसार अहिले थुनिएको नदी पुनः बग्न थालेको छ। तर पहिरो खस्ने क्रम अझै नरोकिएकाले नदी आसपासको क्षेत्रमा जोखिम कायमै रहेको छ। “केही घरखेत बगाएको छ। पहिरो परेको तलको स्थानका १० वटा परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नदी तटीय क्षेत्रमा जोखिममा रहेका सबै नागरिकलाई जानकारी गराइसकेका छौँ,” अध्यक्ष बोहराले भने।

अध्यक्ष बोहराले हालसम्म घटनाबाट मानवीय क्षति भने नभएको भन्दै जाेखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन जानकारी गराइसकिएको बताए। नदी थुनिएपछि अचानक पानीको बहाव बढ्न सक्ने तथा थप पहिरो खस्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

गाउँपालिकाले सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.