पहिरोले चौलानी नदी थुनिएपछि मुख्यमन्त्री भट्टद्वारा सतर्क अपनाउन निर्देशन

धनगढी । दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले घटनाबारे जानकारी लिएका छन्। नदी थुनिएपछि उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री भट्टले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

मुख्यमन्त्री भट्टले अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित निकायका अधिकारीहरूसँग घटनाको अवस्थाबारे जानकारी लिएको उनकाे सचिवालले बताएकाे छ । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसँग समेत घटनाको अवस्थाबारे जानकारी लिँदै चौलानी नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउन तथा आवश्यक सुरक्षा तयारी गर्न निर्देशन दिएका छन्।

त्यस्तै, आन्तरिक मामिला मन्त्रालय र मातहतका सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन, घटनाको निरन्तर निगरानी गर्न तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि परिचालन हुन निर्देशन दिएका छन्। मुख्यमन्त्री भट्टले सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गरी नागरिकको सुरक्षा सुनिश्चित गर्न समेत निर्देशन दिए।

उनले चौलानी नदीमा पानीको बहाव बढ्न सक्ने तथा थुनिएको नदी अचानक खुल्दा जोखिम निम्तिन सक्ने भएकाले नदी किनारमा बसोबास गर्ने नागरिकलाई पूर्वसावधानी अपनाउन र सतर्क रहन आग्रह समेत गरेका छन्। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.