रसुवाका बाढीपीडितकालागि टीकापूरमा राहत संकलन

टीकापुर । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि कैलालीको टीकापुरमा राहत संकलन अभियान तीव्र पारिएको छ। बाढीपीडितलाई आवश्यक पर्ने राहत सामग्री जुटाएर रसुवासम्म पु¥याउने उद्देश्यले स्थानीय स्तरमा अभियान सञ्चालन गरिएको हो।

राहत संकलन समितिले टीकापुर बजारका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा पुगेर लत्ताकपडा, औषधि, मेडिकल सामग्री, खाद्यान्नलगायतका आवश्यक सामग्री संकलन गरिरहेको छ। संकलन गरिएका सामग्रीलाई व्यवस्थित रूपमा जम्मा गरी प्याकिङ गरेर रसुवाका बाढीपीडित परिवारसम्म पठाउने तयारी गरिएको समितिले जनाएको छ।

राहत संकलन समितिको संयोजकमा जानकी शाह रहेकी छन्। समितिका सदस्यहरूमा सरिता थापा रावल, नारायण प्रसाद ढुंगाना, आशा हमाल, विष्णु रोकाया, सूत्र राजेश कुँठायत, नितेश रावत, लोकबहादुर बुढाक्षेत्री, आशा भण्डारी, विमला विष्ट, अर्जुन विश्वकर्मा, निशा कडायत मित्र र कमल सुवेदी रहेका छन्।

समिति सदस्य आशा भण्डारीका अनुसार, टीकापुरका विभिन्न पसल तथा व्यवसायीबाट राहत सामग्री संकलन भइरहेको छ। संकलन कार्य सम्पन्न भएपछि सामग्रीलाई आवश्यकताअनुसार व्यवस्थापन गरी रसुवामा पठाइने तयारी भइरहेको छ। बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिन स्थानीय नागरिक, व्यवसायी, संघसंस्था, विद्यालय तथा सहयोगी मन भएका सबैलाई अभियानमा जोडिन समितिले आग्रह गरेको छ। विपद्को समयमा मानवीय सहयोगमार्फत पीडित परिवारलाई राहत पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको समितिले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.