बाढीपीडितलाई सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो एक–एक महिनाको तलब विपद् पीडितहरूको सहयोगार्थ प्रदान गर्ने भएका छन्। आज शुक्रबार बसेकाे मन्त्री परिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

यस्तै बैठकले सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। बैठकपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी सार्वजनिक अपिल अनुसार विपद् व्यवस्थापन कोषबाट सो रकम उपलब्ध गराइनेछ।

साथै, ​गत २०८३ भदौ १० गते नेपाल–चीन सिमाना भई बग्ने भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाहरूमा अपूरणीय जनधनको क्षति भएको छ। प्रदेश सरकारले प्राकृतिक विपद्‌मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते स्वदेशी तथा विदेशी नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बाढीबाट विस्थापित तथा प्रभावितहरूको तत्काल खोज, उद्धार, सुरक्षित आवास र आवश्यक राहत वितरणका लागि प्रदेश सरकारले सबै संघीय, प्रादेशिक र स्थानीय निकायहरू, सुरक्षाकर्मी एवम् सामाजिक संघ–संस्थाहरूलाई पूर्ण क्षमताका साथ जुट्न आग्रह गरेको छ। ​बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी, संक्रमण र स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै सुदूरपश्चिम प्रदेश सरकारले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहित चिकित्सक तथा स्वास्थ्यकर्मीको विशेष टोली खटाउने व्यवस्था मिलाएको छ। उक्त टोलीले नेपाल सरकार, बागमती प्रदेश सरकार र सम्बन्धित स्थानीय तहका स्वास्थ्य टोलीसँग आवश्यक समन्वय र सहकार्य गरी उपचार सेवा प्रदान गर्नेछ।

यसैगरी, मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशभित्रका सबै जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूलाई उच्च सतर्कतामा रहन र स्थानीय सरकारहरूलाई स्रोत–साधनसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउनुका साथै चौबिसै घण्टा सूचना सम्प्रेषणका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सहायताका लागि प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र (PEOC) को टेलिफोन ०९१-५२१३२४ वा सम्पर्क अधिकृत स.प्र.ह. प्रकाश बहादुर भण्डारीको नम्बर ९७६२४७९३२८ तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारीको नम्बर ९७६१२०६७१९ मा सम्पर्क गर्न सकिनेछ। यसका अतिरिक्त नेपाल प्रहरी (१००), आपतकालीन कार्य सञ्चालन केन्द्र (NEOC/DEOC – १२३४), सशस्त्र प्रहरी बल (१११४), हेलो सरकार (११११) तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का नम्बरहरू ९८५१३२०२६९ र ९८४९२८१०९७ मा समेत सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रदेश सरकारले विपद्को यस कठिन घडीमा सम्पूर्ण नागरिक समाज, दातृ निकाय तथा आम जनसमुदायलाई धैर्य र संयमता अपनाउँदै एक–अर्काको सहयोगमा जुट्न, स्वास्थ्य सतर्कता अपनाउन र सरकारी सुरक्षा तथा उद्धार टोलीलाई पूर्ण सहयोग पुर्‍याउन विशेष अपिल गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.