विपद् व्यवस्थापनमा सबै दल एक ठाउँमा, गरे १० बुँदे साझा संकल्प

काठमाण्डाैं । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति सर्वदलीय बैठकले दुःख व्यक्त गरेको छ । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेको पहलमा बिहीबार सिंहदरबारमा बसेको बैठकले विपद् व्यवस्थापनका लागि १० बुँदे साझा संकल्प गरेको हो ।

बैठकले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको उपचार, हेरचाह र मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड दिएको छ । विपद्को समयमा राजनीतिक मतभेदलाई पछाडि राखेर राष्ट्रिय एकताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै दलहरूले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने बताएका छन् । साझा संकल्पमा राहत तथा उद्धारलाई राजनीतिक प्रतिस्पर्धाबाट मुक्त राख्नेदेखि सीमापार नदीमा पूर्वसूचना प्रणाली बलियो बनाउनेसम्मका विषय समेटिएका छन् ।

यस्ता छन् सर्वदलीय बैठकका १० संकल्प

१. दलका नेता तथा कार्यकर्तालाई राजनीतिक गतिविधिभन्दा मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने र राहत तथा उद्धारमा सहकार्य गर्ने ।

२. दलगत वा व्यक्तिगत रूपमा जथाभावी आर्थिक सहयोग नउठाई सरकारको आधिकारिक उद्धार कोष वा तोकिएको खातामार्फत रकम जम्मा गर्न आह्वान गर्ने ।

३. सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सूचना र अतिरञ्जित सामग्री नराख्ने । प्रभावितको गोपनीयता तथा आत्मसम्मानमा असर पार्ने सामग्रीसमेत सार्वजनिक नगर्ने ।

४. नेपालका जोखिमपूर्ण हिमतालको तत्काल वैज्ञानिक अध्ययन र नक्साङ्कन गर्ने । चीनतर्फ रहेका जोखिमयुक्त हिमतालको अध्ययन तथा जोखिम न्यूनीकरणका लागि संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने ।

५. सीमापार नदी प्रणालीबाट उत्पन्न हुने जोखिमलाई ध्यानमा राख्दै नेपाल र चीनबीच वास्तविक समयको तथ्यांक आदानप्रदान गर्ने व्यवस्था संस्थागत गर्ने तथा भरपर्दो पूर्वसूचना प्रणाली विकास गर्ने ।

६.स्थानीय तहलाई पहिलो प्रतिकार्यकर्ताका रूपमा थप सुदृढ बनाउने । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको उद्धार तथा राहतलाई विशेष प्राथमिकता दिने ।

७. विपद्बाट क्षति भएका संरचनालाई अझ सुरक्षित र उत्थानशील हुने गरी पुनर्निर्माण गर्ने । कालोबजारी, कृत्रिम अभाव र राहत दुरुपयोग गर्नेलाई कडा कानुनी कारबाही गर्ने ।

८. जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको हानि–नोक्सानीलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै जलवायु न्यायका आधारमा अन्तर्राष्ट्रिय सहयोग माग्ने ।

९. संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायसँग मानवीय, प्राविधिक र आर्थिक सहयोगका लागि अपिल गर्ने ।

१०.विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद् नीतिमा सुधारका लागि संसदीय समिति गठन गर्ने र सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग तथा अनुगमन गर्ने ।

सर्वदलीय बैठकले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी र स्वयंसेवकप्रति आभार व्यक्त गरेको छ । बैठकले अहिलेको विपद्लाई राष्ट्रिय एकता बलियो बनाउने, भविष्यका जोखिमका लागि पूर्वतयारी बढाउने तथा सुरक्षित पुनर्निर्माणको आधार तयार गर्ने अवसरका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका महासचिव चन्दन सिंहले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.