धनगढी । सुदूरपश्चिम प्रदेश सरकारसँग प्रदेशको स्थायी राजधानी निर्माणसहित विभिन्न माग राख्दै नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ समन्वय कमिटिले ज्ञापनपत्र बुझाएको छ। समन्वय कमिटिका संयोजक गणेश जिमि साउँदले मुख्यमन्त्री खगराज भट्टसहित सामाजिक विकास मन्त्री सन्तोष कुमारी शर्मा (थापा), आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल र कृषि मन्त्री दमनबहादुर भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा प्रदेशसभाको २०७५ असोज १२ गतेको बैठकबाट दुई तिहाइभन्दा बढी बहुमतले कैलालीको गोदावरी नगरपालिका–२ र ४ स्थित तेघरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी तोकिए पनि हालसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
राजधानी निर्माणका लागि आवश्यक भौतिक संरचना, जग्गा व्यवस्थापन तथा प्रशासनिक स्थानान्तरणका कामले अपेक्षित गति लिन नसकेको भन्दै ज्ञापनपत्रमा प्रदेशको घोषित राजधानी गोदावरीमै निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ।त्यसका लागि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने, राजधानी क्षेत्रको जग्गा व्यवस्थापन तथा वातावरणीय अध्ययनका प्रक्रिया शीघ्र टुंग्याउनुपर्ने माग गरिएको छ।
त्यस्तै, चौकीडाँडा–फल्टुडे सडकलाई व्यवस्थित रूपमा निर्माण गरी पहाडी क्षेत्रसँग सहज सडक सञ्जाल विस्तार गर्नुपर्ने र धार्मिक पर्यटन प्रवर्द्धनका लागि धार्मिक सर्किट निर्माणको अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ। मागप्रति मुख्यमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले सकारात्मक धारणा व्यक्त गरेको संयोजक साउँदले बताए। उनका अनुसार मन्त्रीहरूले आवश्यक प्रक्रिया अघि बढाउने तथा मागहरू कार्यान्वयनमा लैजान पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
राजधानी निर्माणसँगै सडक पूर्वाधार र धार्मिक पर्यटनको विकासलाई एकीकृत रूपमा अघि बढाउन सके गोदावरी क्षेत्रलाई सुदूरपश्चिमको महत्वपूर्ण प्रशासनिक, आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।