सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पद मुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको सांसद पद रिक्त भएको छ। मङ्गलबार प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेपछि उनको पद रिक्त भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

जैसीका अनुसार देउवा सभालाई पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद रिक्त गरिएको हो। सभामुखले बुधबार प्रदेशसभा बैठकमा यसबारे औपचारिक जानकारी गराउनेछन्। त्यसपछि राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई जानकारी गराइनेछ।

गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि अमेरिका गएका देउवा हालसम्म नेपाल फर्किएका छैनन्। अमेरिकामा स्वास्थ्यमा समस्या देखिएपछि उपचार तथा आराममा रहेको जानकारी उनले सचिवालयलाई गराएकाले अमेरिकामा रहे पनि सांसद पद कायम रहेसम्म देउवाले सेवा–सुविधा पाउँदै आएका थिए। पछिल्लो ११ महिनामा उनको खातामा पारिश्रमिक तथा विभिन्न सेवा–सुविधाबापत ७ लाख ५३ हजार ५ सय रुपैयाँ भुक्तानी भएको छ। मासिक रूपमा पारिश्रमिकसहित धारा–बिजुली, सञ्चार र अतिथि सत्कारलगायत शीर्षकमा ६८ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयका अनुसार पछिल्ला २७ बैठकमा देउवा सहभागी भएका छैनन्। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट नेपाली काँग्रेसकाे उम्मेदवार भई प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.