सुदूरपश्चिम प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने भट्ट सरकारको पहिलो निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टले पदबहालीपछिकाे पहिलाे  मन्त्रिपरिषद्को बैठकले प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेकाे छ । शुक्रबार नवनियुक्त मन्त्रीपरिषद बैठककाे पहिलो निर्णयले सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा डायलाइसिस सेवा विस्तार गर्ने घोषणा गरेको हाे।

मिर्गौलाका बिरामीहरूले लामो दूरी तय गरी महँगो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै स्थानीय तहमै सहज र निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित सरकारले यस्तो निर्णय लिएको हो मुख्यमन्त्री भट्टकाे सचिवालयले बताएको छ। मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुसार बिरामीको अत्यधिक चाप रहने ठूला अस्पतालहरूमा तत्काल शैय्या (बेड) थपिनेछ।

जसअन्तर्गत सेती प्रादेशिक अस्पतालमा ५, महाकाली प्रादेशिक अस्पतालमा ४ र टीकापुर प्रादेशिक अस्पतालमा ३ शैय्या डायलाइसिस सेवा थप गर्ने निर्णय भएको छ। ​यसैगरी, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै लम्कीचुहा अस्पतालमा ५ शैय्या, बयलपाटा अस्पताल र जोगबुढा अस्पतालमा २/२ शैय्या तथा प्रदेशका सबै जिल्ला अस्पतालहरूमा दुई–दुई शैय्या डायलाइसिस सेवा विस्तार गरिनेछ।

पहिलो बैठकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गरिएको यस निर्णयले प्रदेशका विपन्न तथा जटिल रोगका बिरामीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार आजै मुख्यमन्त्री खगराज भट्ट  सहित ४ मन्त्री एक राज्यमन्त्री सम्मीलित मन्त्रीमण्डल गठन गरिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.