काठमाडौं । ‘प्रहरी दमन मुर्दावाद’,‘राज्य आतंक बन्द गर’ भन्दै पत्रकारहरु आन्दाेलित भएका छन् । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको हो ।
पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । त्यसक्रममा प्रहरी र पत्रकारहरुबीच केहीबेर घम्साघम्सी परेको थियो । शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकारहरु आक्रोशित भएका थिए । उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’ भन्दै नारासमेत लगाए । कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाए ।
जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति ९ बजे काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको छ ।
प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।