नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले आज सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी कफ्र्यु आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हाे ।
उता सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। वर्तमान सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी मुलुक भारतबाट सीमा नाकामार्फत नेपाल भित्रिने सबै यात्रुको परिचय यकिन गरी मात्र प्रवेश अनुमति दिने निर्णय गरेको हो।
पूर्वी नेपालका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थापछि सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले शुक्रबार बिहानसम्म जिल्लाको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको भन्दै जिल्लाभित्र सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको बताए ।