धनगढी । शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका धनगढीका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । उपचारका क्रममा चिकित्सकले उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताएका थिए ।
गम्भीर अवस्थाका चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो तर आफन्तले उनलाई काठमाडौंतर्फ लिएर गएका थिए । उनको आइतबार राति नै बाटोमा मृत्यु भएको र आफन्तले सोमबार बिहान ७ बजेतिर प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक विष्टले बताए । उनको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।