धनगढी । ओम श्रीनगर स्पोर्ट्स क्लबको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को समन्वयमा आयोजित कोरा २६ धनगढी सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका बेला बर्षा भएपनि धनगढीका सयौं युवा साइक्लिस्टको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई भव्य बनाएको आयोजकले जनाएको छ।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा साइकललाई दिगो र वातावरणमैत्री यातायातका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित राइडमा सहभागीहरूले करिब ६० किलोमिटर दूरी तय गरेका थिए। राइड धनगढीबाट सुरु भई शहीदगेट, राजघाट, गेटा र भल्का हुँदै पुनः धनगढीमै पुगेर सम्पन्न भएको थियो।
कोरा नेपालले हरेक वर्ष सञ्चालन गर्दै आएको यो अभियानले नियमित साइकल प्रयोग, शारीरिक तन्दुरुस्ती, वातावरणीय जिम्मेवारी र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। सबै उमेर समूहका नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन र वातावरण संरक्षणमा व्यक्तिगत योगदान पुर्याउन प्रेरित गरेको सहभागीहरूले बताएका छन्।