“राेगले श्रीमान खोस्यो, वर्षाले घर” तीन छोराछोरी लिएर कहाँ जाने ?

शेरबहादुर सार्की

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाका अधिकांश दलित परिवारको जीविकोपार्जन भारतमा रोजगारी गर्ने परिवारका सदस्यले पठाएको आम्दानीमा निर्भर छ। घरमा श्रीमती र बालबालिका बस्ने तथा श्रीमान भारतमा मजदुरी गर्न जाने यहाँको सामान्य चलन हो।

यही क्रममा बदेडाका करिब ३५ वर्षीय पन्नु सार्की परिवारको जीविकोपार्जनका लागि २०८२ सालको हिउँदमा भारत रोजगारीका लागि जानुभयो। राम्रो आम्दानी गरेर परिवारको जीवनस्तर सुधार्ने सपना बोकेर भारत पुगेका उनि केही समयमै गम्भीर बिरामी परे। स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै गएपछि उनलाई घरमा खबर भयो। त्यसपछि २०८३ साल जेठमा श्रीमती दिपा सार्की श्रीमानको उपचारका लागि भारत पुगिन तर उनी पुग्दासम्म श्रीमानको अवस्था अत्यन्त गम्भीर भइसकेको थियो। केही दिनपछि मुटु, कलेजो र फोक्सोसम्बन्धी रोगबाट उनको निधन भयो।

उपचार गराएर श्रीमानलाई सकुशल घर फर्काउने आशा बोकेर भारत पुगेकी दिपा सार्कीको त्यो सपना अधुरै रह्यो। श्रीमानको काजकिरिया सम्पन्न गरेर घर फर्किने तयारी गरिरहेकै बेला अर्को ठुलो विपत्ति आइपर्‍यो। असार २३ र २४ गते परेको अविरल वर्षाका कारण आएको पहिरो र वर्षाले उहाँको घर पूर्ण रूपमा भत्कियो। श्रीमान गुमाएको पीडामाथि घरसमेत गुमाएपछि उनी अहिले तीन साना सन्तानसहित बिचल्लीमा परेका छन।

दिपा सार्कीले भनिन्, “रोगले श्रीमान खोस्यो, वर्षाले घर पनि लग्यो। अब साना छोराछोरी लिएर कहाँ बस्ने, कसरी जीवन चलाउने भन्ने चिन्ताले सताएको छ। कसैले सहयोग गरिदिए बालबच्चाको पालनपोषण गर्न केही सहज हुन्थ्यो।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.