देउवा छोरा जयविरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काट्याे सात दिने पत्र

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविरलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्र काटेको छ। सोमबार विभागका अधिकारीहरूले बुढानिलकण्ठ नगरपालिका-२ स्थित भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरिएको हो। योसँगै जयविरमाथि पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू भएको हो।

जयविरलाई ७ दिनभित्र विभागको कार्यालय हरिहरभवन ललितपुरमा उपस्थित हुन पत्र लेखिएको छ। उपस्थित नभएमा कानुन बमोजिम अघि बढ्ने समेत उल्लेख गरिएको छ। ‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ/अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटो म्याद बाहेक ७ दिन भित्र यस विभागको कार्यालय हरिहरभवन ललितपुर कर्मचारी संञ्चय कोषको भवनको ब्ल्क बीमा कार्यालय समय भित्र हाजिर हुन आउनु हुन यो सूचना/म्याद जारी गरिएको छ। नआए कानून बमोजिम हुनेछ,’ पत्रमा लेखिएको छ।

यो सूचना मंगलबारको गोरखापत्रमा समेत प्रकाशित भएको छ। सोमबार विभागका प्रतिनिधि आएपछि स्थानीय प्रहरी र बुढानिलकण्ठ नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि जानकारी गराइएको थियो। वडाध्यक्ष श्रेष्ठले यसरी पत्र काटिएको विषयमा परिवारलाई जानकारी समेत गराइसकेको बताए। ‘विभागले पत्र टाँस गरेपछि मैले परिवारलाई सम्पर्क गरी जानकारी गराएको थिएँ,’ उनले भने।

विभागले पूर्वप्रधानमन्त्री देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजू राणामाथि पनि अनुसन्धान गरिरहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि यसअघि यसैगरी ई-पासपोर्टको छानबिन गर्नका लागि राणाको नाममा पत्र काटेको थियो। उनीहरू हाल पछिल्लो चार महिनादेखि हङकङमा छन्। गत चैत ६ गते सचिवालयले देउवा दम्पती थप उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ पुगेको जानकारी उपलब्ध गराएको थियो। त्यसको साता/दश दिनमा उनीहरू स्वदेश फर्कने बताइए पनि अहिलेसम्म आएका छैनन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.