नेता जन्माउने सुदूरपश्चिम सबैभन्दा ‘गरिब’ प्रदेश

धनगढी । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा ‘गरिब’ प्रदेश हो। सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै ३४.१६ प्रतिशत छ। ‘गरिबीको लघुक्षेत्र अनुमान– २०८२’ को प्रतिवेदनअनुसार देशका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै गरिबी दर भएका १० स्थानीय तहको सूचीमा ६ वटा सुदूरपश्चिममै छन् ।

पछिल्लो मानव विकास सूचांक प्रतिवेदन २०२४ अनुसार नेपालको मानव विकास सूचांक ०.६२२ छ, तर सुदूरपश्चिमको सूचकांक अवस्था औसतभन्दा निकै कम अर्थात् ०.६०१ छ। सुदूरपश्चिमेलीको प्रतिव्यक्ति आय पनि राष्ट्रिय औसत आयभन्दा न्यून छ। नेपाल राष्ट्र बैंक धनगढीद्वारा प्रकाशित आर्थिक गतिविधि अध्ययन प्रतिवेदन ०८३ अनुसार नेपालको प्रतिव्यक्ति आय एक हजार ५ सय १३ डलर रहेकामा सुदूरपश्चिमको प्रतिव्यक्ति आय एक हजार १ सय ७९ मात्र छ।

प्राकृतिक रूपमा सम्भावना र राष्ट्रिय राजनीतिमा पनि प्रभाव रहेको सुदूरपश्चिम अभाव, अविकास र विपन्नताबाट किन माथि उठ्न सकिरहेको छैन? सुदूरपश्चिमेलीका मुखमा झुन्डिएको सदाबहार प्रश्न हो यो। अन्नको भण्डार भनिने तराईका सुन्दर फाँटहरूसँगै नेपालकै सबैभन्दा ठूलो घाँसे मैदानमा बाह्रसिंगाका बथानहरू अवलोकन गर्न पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यहीं छ। बडिमालिका, रामारोशन, खप्तड, बूढीनन्दालगायत उच्च पहाडी क्षेत्रमा अवस्थित धार्मिक तथा मनमोहक पर्यटकीय गन्तव्यहरू अनि साइपाल र अपीलगायत उच्च हिमशृंखला सुदूरपश्चिममै छन्।

यी सम्पदा तथा गन्तव्य सुदूरपश्चिमको आर्थिक सामाजिक तथा सांस्कृतिक वैभवका प्रतीक भएपनि यिनीहरूलाई सदुपयोग गर्न नसक्दा हाम्रो प्रदेश सबैभन्दा पछाडी छ । उसाे त राज्य सञ्चालनका उच्च निकायमा सुदूरपश्चिमले प्रतिनिधित्व नपाएको पनि होइन। सुदूरपश्चिमका केआई सिंह प्रजातन्त्र स्थापनाको सुरुआती चरणमै प्रधानमन्त्री भए, लोकेन्द्रबहादुर चन्द चारपटक र पाँच पटक शेरबहादुर देउवा। राज्य सञ्चालनका अन्य निकायका उच्च तहमा पनि सुदूरपश्चिमले पटक–पटक राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व पायो। यही सवालमा बझाङका किशोर खड्का भन्छन्, ‘प्राकृतिक स्रोतसाधन र केन्द्रीय राजनीतिमा उल्लेख्य पहुँच हुँदाहुँदै पनि सुदूरपश्चिम किन अभाव, अविकास र पछौटेपनको चक्रबाट बाहिर निस्कन सकेको छैन ।

निरपेक्ष गरिबी सबैभन्दा धेरै सुदूरपश्चिममा ३४.१६ प्रतिशत जनता गरिबीको रेखामुनि छन्। गरिबी सूचकांकबाट सबैभन्दा गरिब देखिएका १० मा सुदूरपश्चिमका अछाम (४९.५८ प्रतिशत), बैतडी (४८.६५ प्रतिशत), बाजुरा (४७.८१ प्रतिशत), डोटी (४२.८१ प्रतिशत) र बझाङ (३८.८३ प्रतिशत) पर्छन्। त्यसमा पनि अछाम मुलुककै सबैभन्दा बढी गरिब भएको जिल्ला हो। मुलुकभरमै बैतडी दोस्रो, बाजुरा तेस्रो, डोटी पाँचौं र बझाङ नवौं नम्बरमा पर्छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.