कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर वर्षा भइरहेका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश बस्ती र सडकसमेत डुबानमा परेका छन्।

धनगढीका मुख्य सडक, गल्ली, नाला र होचा बस्तीमा पानी जम्दा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। डुबानका कारण सवारीसाधन सञ्चालन तथा पैदल आवतजावतमा समेत समस्या देखिएको छ। लगातार वर्षा भइरहेकाले डुबानसँगै बाढीको जोखिमसमेत बढेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूले नदी, खोलानाला आसपास र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

डुबानका कारण विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका छन्। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले आज विद्यालयमा सार्वजनिक बिदा दिएका छन्। मौसम पूर्वानुमान विभागका अनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सबैलाई अनुरोध गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.