विवेकपूर्ण राजनीतिक सहभागिताको आवश्यकता

चन्द्रबहादुर भण्डारी

युवाहरूले राजनीतिक गतिविधिलाई केवल समर्थन वा विरोधको रूपमा होइन, तथ्य, नीति र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्न आवश्यक छ भन्ने विचार आजको सन्दर्भमा अत्यन्त महत्वपूर्ण छ।

लोकतान्त्रिक समाजमा नागरिकको भूमिका केवल मतदान गर्नेमा सीमित हुँदैन, बरु राजनीतिक प्रक्रियालाई सचेत रूपमा बुझ्ने र मूल्याङ्कन गर्ने पनि हुन्छ। विशेषगरी युवाहरू परिवर्तनका वाहक भएकाले उनीहरूको राजनीतिक चेतना अझ जिम्मेवार र विवेकपूर्ण हुनुपर्छ। कुनै पनि राजनीतिक दल वा नेताप्रति अन्ध समर्थन गर्नु लोकतान्त्रिक संस्कृतिका लागि स्वस्थ मानिँदैन।

दलले गरेका काम, सार्वजनिक नीति, आर्थिक तथा सामाजिक प्रतिबद्धता र जनताप्रतिको उत्तरदायित्वलाई आधार बनाएर निर्णय लिनु आवश्यक हुन्छ। नेतृत्वको क्षमता, पारदर्शिता, निर्णय गर्ने शैली र जनअपेक्षाअनुसार काम गर्ने व्यवहारलाई प्राथमिकता दिन सकिए मात्र सही राजनीतिक संस्कार विकास हुन्छ। यसका साथै युवाहरूले सामाजिक सञ्जालका सूचना मात्र होइन, विश्वसनीय स्रोतबाट तथ्य बुझ्ने बानी विकास गर्नुपर्छ।

सार्वजनिक बहस, नागरिक संवाद, मतदान तथा सामाजिक अभियानमा सक्रिय सहभागिताले राजनीतिक प्रणालीलाई अझ उत्तरदायी बनाउन सहयोग गर्छ। उसाे त राजनीति केवल नेताहरूको विषय होइन, समाज निर्माणको माध्यम पनि हो। त्यसैले युवाहरूले भावनात्मक प्रभावभन्दा माथि उठेर विवेकपूर्ण निर्णय गर्ने, प्रश्न गर्ने र सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका खेल्ने संस्कार अपनाउनु आवश्यक छ।

यसले स्वस्थ लोकतन्त्र र समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ।

लेखक भण्डारी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं अछाम जिल्ला ईञ्चार्ज हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.