धनगढी । कञ्चनपुरको पुर्नवासबाट भन्सार छली गरी नेपाल ल्याइएका सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ । आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपि आँपतालबाट खटिएको सशस्त्र प्रहरी टोलीले पुनर्वास नगरपालिका – ४ ‘घ’ गाउँमा ५६ हजार ३ सय बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
बरामद गरिएका समानलाई आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय धनगढी पठाइएको छ । त्यस्तै सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ गइरहेको मदिरा (पलपल ) समेत बरामद गरेको छ । शनिवार पुर्नवासको सीमा इलाकाबाट घोडा टाँगामा नेपालबाट अवैध रूपमा भारततर्फ लग्दै गरेको १० पेटी पलपल (मादक पदार्थ) सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट डोकेबजारबाट खटिएको टोलीले बरामद गरेको घोडा र टाँगालाई कैलाली भन्सार कार्यालयमा बुझाइएको छ भने मादक पदार्थलाई स्थानीय भद्रभलाद्मी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जनाएको छ ।