धनगढी । सुदूरपश्चिम प्रदेश सरकारभित्र नेपाली काँग्रेसमा देखिएको शक्ति संघर्ष अन्ततः सहमतिमार्फत टुंगिएको छ। सहमतिसँगै मुख्यमन्त्री कमलबहादुर शाहले संसदीय दलको नेता तथा मुख्यमन्त्री पदमा निरन्तरता पाउने भएका छनभने असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री दिइने भएकाे छ ।
एमाले सँगकाे मिलाेमताेमा अहिले सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री पाएको छ । याे सहमतिअनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् भने मुख्यमन्त्रीसहित एक मन्त्री र एक राज्यमन्त्री अहिलेको सत्ता पक्षकै रहनेछन् । मन्त्रालय भने मुख्यमन्त्रीले नै निर्धारण गर्ने अडान लिएको वार्ता स्रोतले बताएको छ।
मुख्यमन्त्रीको तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुरसिंह थापा र प्रकाश बमले शनिबार असन्तुष्ट पक्षसँग वार्ता गरेका थिए । असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीमा सहमति गरेको स्रोतको दाबी छ ।