धनगढी । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। संघको काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आज (शनिबार) देखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसका आधारमा यो नयाँ दररेट तय गरिएको संघले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार अब एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ र मध्यम (मिडियम) अण्डाको ५१५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी तीन हजार रुपैयाँ तोकिएको छ। यो नयाँ मूल्य समायोजनसँगै अब उपभोक्ताका लागि खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुग्ने देखिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएको यसै मूल्यमा कारोबार गर्न आग्रह गरेका छन्।
पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको तथ्यांकले देखाउँछ। गत वैशाख २४ गते प्रतिक्रेट ४६५ रुपैयाँ रहेको एक्सएल अण्डाको मूल्य अहिले ५६० रुपैयाँ पुगेको छ, जुन एक महिनामा ९५ रुपैयाँ अर्थात् करिब २० प्रतिशतको वृद्धि हो।