धनगढी । समाजिक सञ्जाल फेस बुकमा आफ्नाे नाम जोडेर फैलाइएका भ्रमप्रति ध्यानाकर्षण भएकाे भन्दै अछाम क्षेत्र नं. १ प्रदेश “ख” बाट निर्वाचित सांसद एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री झपट साउदले अनावश्यक आरोप बन्द गर्न आग्रह गरेका छन् ।
केही दिनयता सामाजिक सञ्जालमा तेस्रो पक्षका रुपमा आफ्नाे नाम जोडि अनावश्यक तर नियतवस भ्रम सिर्जना गर्ने प्रयास भएकोप्रति आपत्ति जनाउदै पूर्वमन्त्री साउदकाे सचिवालयले विज्ञप्तिमार्फत यस्ता अपुष्ट तथ्यहिन र कसैको स्वच्छ छविमाथि आँच ल्याउन गरिएका भ्रामक सूचनालाई आधार बनाएर चरित्र हत्या गर्ने कार्य अपराधी मानसिकता भएकाेले कारवाहीकाे चेतावनी समेत दिएकाे छ ।
सम्बन्धित व्यक्तिले नै आफ्नो स्टाटसमार्फत अनावश्यक रूपमा नाम जोडेर भ्रम फैलाइएको र गल्ति स्वीकार गरि माफि मागिसकेको अवस्थामा कतिपयले अधारहिन विषयलाई अतिरञ्जित गर्दै निरन्तर स्टाटसबाजी गरिरहेकाेप्रति पनि आफ्नाे ध्यानाकर्षण भएकाे विज्ञप्तिमा जनाएकाे छ ।
जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले विगतदेखि नै जनताका मुल समस्या समाधान, भौतिक पूर्वाधार र विकास निर्माण, अधिकारका पक्षमा निरन्तर काम गर्दै आएको भन्दै कसैको व्यक्तिगत प्रतिष्ठा र योगदानमाथि बिना प्रमाण आक्षेप लगाउने कार्य बन्द गरी संयमित अभिव्यक्ति र जिम्मेवार सामाजिक व्यवहार अपनाउन सबैमा अपिल गरेका छन्।