धनगढी । कैलालीको अत्तरिया चोकमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल बन्ने भएकाे छ । गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले शनिबार पूजापाठसहित पुल निर्माण आयोजनाको शिलान्यास गरेका हुन् ।
नगर प्रमुख भट्टले अत्तरिया चोकमा दिनप्रतिदिन बढ्दै गएको सवारी चाप र पैदलयात्रीको जोखिमलाई मध्यनजर गर्दै पुल निर्माणको योजना अघि बढाइएको बताए । उनका अनुसार यो पुलले ट्राफिक व्यवस्थापनलाई सहज बनाउनुका साथै पैदलयात्रीको सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउनेछ । नगरपालिकाका अनुसार उक्त आकाशे पुलको कुल लागत एक करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँ रहेको छ ।
नगरपालिकाले आफ्नै स्रोतबाट अघि बढाइएको योजनाअन्तर्गत निर्माणको जिम्मा ‘क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभी धनगढीले पाएको छ । निर्माण कम्पनी र नगरपालिकाबीच २०८२ फागुन १० गते सम्झौता भएको थियो भने २०८३ पुस ३० गते निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।