राजधानी धनगढी बनाउन मुख्यमन्त्री शाहको काठमाडौँमा दौडधुप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह अहिले सङ्घीय राजधानी काठमाडौँमा दौडधुपमा छन् । बिहीबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका शाहले शुक्रबार नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटघाट गरे ।

आफु नेतृत्वकाे सुदूरपश्चिम प्रदेश  सरकार जाेगाउन र प्रेदेशको राजधानी धनगढीमा कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे कुरा भैइरहेको स्राेतले बतायाे । मुख्यमन्त्री शाहले पनि प्रदेशको राजधानीको विषय टुङ्ग्याउन आफू काठमाडौँमा शीर्ष नेताहरूलाई भेटिरहेको जानकारी दिए ।

‘प्रदेशको राजधानीको विषय लामो समयदेखि टुङ्गिएको छैन । त्यो विषय टुङ्ग्याउन काठमाडौँमा आएर शीर्ष नेताहरूलाई भेटेको हुँ,’ मुख्यमन्त्री शाहले भने, ‘हिजो साँझ एमाले अध्यक्षज्यूलाई भेटे । आज नेपाली कांग्रेसका सभापति गगन थापालाई भेटे ।’

सुदूरपश्चिम प्रदेशसभाले कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय गरेको थियो । तर, रुख कटानलगायतको समस्याले त्यहाँ राजधानी सार्न नसकिएकोले पछि नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादीबिच कैलालीको धनगढीमा बनाउने सहमति भए पनि पेस हुने बेलामा रोकिएकोले अहिले टुङ्ग्याउनका लागि नेताहरूसँग भेटघाट गरिरहेको मुख्यमन्त्री शाहको भनाइ थियो । 

त्यसबाहेक समसामयिक राजनीतिबारे पनि शीर्ष नेताहरूसँग छलफल भएको मुख्यमन्त्री शाहले बताए । सरकारका विषयमा कांग्रेस एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच मिलेर जाने प्रयास भइरहेको नेताहरूले बताएको शाहले जानकारी दिए । ‘३ दलबिच प्रदेशहरूमा मिलेर जाने प्रयास भइरहेको नेताहरूले बताउनुभयो । सहमति गर्न बाँकी रहेकाले सहमतिको मोडालिटी यही हो भनेर भन्ने अवस्था नरहेको उहाँहरूको भनाइ थियो,’ शाहले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.