धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझाले सेवाबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्यालयका प्रवक्ता समेत रहेका ओझाले स्वास्थ्य अवस्था र व्यक्तिगत समस्याका कारण राजीनामा दिएको बताएपनि उनलाई जान्ने बुझ्नेहरु अनेक तर्क गरिरहेका छन् ।
मुख्यमन्त्रीले कर्मचारीबाट पैसा उठाउने गरेकाे भन्ने एक जना अधिकृतकाे भिडियाे सार्वजनिक भएलगत्तै साेझासादा, ईमान्दार र कर्तव्यनीष्ट ओझाकाे राजिनामा आउनु अनाैठाे देखिएकाे हाे । उसैमा उपसचिव ओझाकाे कार्य अवधि सकिन मात्र एक बर्ष थियाे ।
सरकारले उनलाई डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरेर पठाएपछि ओझाले ११ वैशाखमा प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन् । तर, ओझाले स्थानीय तहमा काम गरेको अनुभव नभएको, प्रतिकूल स्वास्थ्य अवस्था, सेवाको उत्तरार्ध र धेरै तनाब लिएर काम गर्न नसक्ने भएकाले राजीनामा दिनुुपरेका निकटस्थहरुलाई बताएका छन् ।
उनी स्वयंमले समेत यो कुरा स्वीकार गरेका छन् । ‘मेरो सेवा अवधी एक वर्ष मात्र थियो । प्रमुख प्रशासकीय अधिकृतका रुपमा अमरगढी नगरपालिका पठायो तर मसँगै स्थानीय तहमा काम गरेको अनुभव छैन,’ उनले भने, ‘स्वास्थ्य अवस्थाका कारण धेरै तनाव लिएर काम गर्न सक्ने अवस्था नभएकाले अवकाश लिने निर्णय लिएको हुँ ।’
कैलालीको गोदावरी नगरपालिका–६ लालपुर घर भएका उपसचिव ओझा २९ वर्षअघि नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उपसचिव रहेका ओझा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवक्ताको भूमिका पनि निर्वाह गरिरहेका थिए ।