धनगढी । नेपालमा हाल रहेकाे पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले आज र भाेलि कतै भारी वर्षा त कतै हावाहुरीको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज अपराह्नदेखि भोलि बिहानसम्म आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो।
महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। विशेषगरी सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी र बागमती प्रदेशको नवलपुर र चितवन, मधेस प्रदेशको बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशको झापा र मोरङमा सतर्कता अपनाउन भनिएको छ।
हावाहुरी बुधबार अपराह्न ४:०० बजेदेखि सुरु भई बिहीबार बिहान ६ :४५ बजेसम्म कायम रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।मौसमविद्हरूका अनुसार मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने यो प्रणाली हाल देशको पश्चिमबाट पूर्वतिर सर्दै गइरहेको छ। यसको प्रभाव आज र भाेलि देशभरका धेरै ठाउँहरूमा पर्ने देखिएको छ।