नक्कली नोट देखाएर सक्कली ठगी गर्ने छ जना पक्राउ

काठमाडाैं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनौठो शैलीमा ठगी गर्ने एक गिरोहका छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेले ‘सक्कली नोट साटेर दोब्बर रकम दिने’ प्रलोभन देखाई ग्राहकलाई नक्कली नोटमा फसाउने र अन्त्यमा कागजको बिटो थमाएर ठगी गर्ने गरेको खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पक्राउ पर्नेहरू उदयपुर, बारा, चितवन र रौतहट घर भएका छन् । उनीहरूलाई काठमाडौँको टौदह क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनीहरूबाट ४० बन्डल नक्कली नोट (कागजका बिटो), नम्बर प्लेट छोपिएको इभी गाडी (मिनी हायस) र मोटरसाइकल बरामद गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गिरोहले सुरुमा सानो रकममा सक्कली नोट नै दोब्बर दिएर ग्राहकको विश्वास जित्ने र केही पटक घाटा बेहोरे जस्तो देखाएपछि ग्राहकबाट ठुलो रकम साट्न तयार हुने अवस्था सिर्जना गरेको पाइएको छ ।

यसरी ठुलो कारोबारका बेला भने बाहिर सक्कली जस्तो देखिने तर भित्र कागज राखिएको बन्डल थमाएर ठगी गर्ने गरिएको पाइएको छ । यसरी ठगी गर्दा सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत सम्पर्क गरी पैसाका बन्डल देखाउँदै झुक्याउने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.