मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र भाइ बिरामी

धनगढी । मरेको ब्रोइलर कुखुराको मासु खाएर कैलालीमा बिरामी भएका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सहोदर दाजुभाइ हुन् ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश विष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

घटना बिहीबारको भएपनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो । त्यसपछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो । उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

फार्म सञ्चालक मंगल साउँदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.