महेन्द्रनगर । ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेकी बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन्। प्रहरी नियन्त्रणमा रहेकी नाथलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्थाको निगरानी भइरहेको छ र आवश्यक उपचार जारी छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेमबहादुर शाहीले बिहीबार महेन्द्रनगरबाट शान्ति नाथलाई पक्राउ गरिएको जानकारी दिए। “ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ,” उनले भने, “मुद्दा इलाका प्रहरी कार्यालय बेल्डाँडीबाट चलेको हो।” उनका अनुसार किटानी जाहेरीपछि जिल्ला अदालत कञ्चनपुरले पक्राउ अनुमति दिएपछि नाथलाई नियन्त्रणमा लिइएको हो।
यो प्रकरण कञ्चनपुरको बेलौरीमा मोटरसाइकलसहित जलेको अवस्थामा फेला परेका हरिकिसन रानाको मृत्युसँग सम्बन्धित छ। गत वैशाखको पहिलो साता बेलौरी नगरपालिका–१० शिवनगरस्थित घटियाघाट रोडनजिकै बेल्डाँडी गाउँपालिका–३ कमरीका ५० वर्षीय हरिकिसन राना सडक छेउको भुसामा मोटरसाइकलसहित जलेको अवस्थामा मृत भेटिएका थिए।
घटनापछि केही दिनअघि प्रतिनिधिसभा सदस्य दीपक बोहराले प्रतिनिधिसभामा निस्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए। प्रहरीले घटनास्थल सडक छेउमै भएकाले सडक दुर्घटना हो वा हत्या भन्ने विषय शंकास्पद रहेको बताउँदै दुवै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ।