Dashain Suvakamana

श्रमदानमार्फत झोलुङ्गे पुल बनाउन दार्चुला आउदै हर्कराज साम्पाङ

Ajai

दार्चुला । श्रमदानमार्फत झोलुङ्गे पुल बनाउन श्रम संस्कृति पार्टीका अध्यक्ष एव प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङको टिम दार्चुलाकाे विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङ आउदैछ । यसअघि तुइन हटाएर महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न प्राविधिक अध्ययन टोली आए पनि अन्तर्राष्ट्रिय सीमानाकामा संरचना निर्माण गर्न दुई देशको सहमति चाहिने भएपछि सो टोलीले स्थानीय काठा दुम्लिङमा पुल निर्माण गर्ने भएको हो ।

स्थलगत अनुमगन निरीक्षण (नापजाँच) पछि काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा झोलुङ्गे पुल निर्माण गरिने इन्जिनियर डम्मर लिम्बूले जानकारी दिए । स्थानीयको मागका आधारमा तत्काल काठा दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न लागत इस्टिमेटसहितको विस्तृत अध्ययन प्रतिवेदन बनाइएको उनले बताए । पुल निर्माण गर्न प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङ नेतृत्वको टिम दार्चुला आएर चैत २४ गते पुलको शिलान्यास गर्ने योजना रहेको इन्जिनियर लिम्बूले बताए ।

बर्सातको समयमा खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने गरेका कारण सो खोलामा पुल निर्माण गरिदिन प्राविधिक टोलीलाई आग्रह गरेको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले बताए ।  पुल निर्माणका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गर्नुभएका प्रतिनिधि सभा सदस्य साम्पाङलाई देश तथा विदेशमा रहेका नेपालीले हालसम्म एक करोड १२ लाख रुपियाँ सहयोग गरेको टोलीमा रहेका महेन्द्र पुनले जानकारी दिए । उनले १५ जना श्रमदातासहित प्रतिनिधि सभा सदस्य साम्पाङको टोली दार्चुला आउँदै गरेको र आउँदो असारसम्ममा पुल निर्माण गरिसक्ने लक्ष्य छ । पुलको लम्बाइ ८० मिटर रहेको छ ।

राज्यको आँखा नपुगेको दुम्लिङमा प्रतिनिधि सभा सदस्य साम्पाङको अगुवाइमा पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुसी छन् । स्थानीय प्रभात बुढाथोकीका अनुसार विद्यार्थी हिँड्ने, यार्चागुम्बा टिप्न जाने मूलबाटो तथा काठा दुम्लिङ, गोठान र कल्जु गाउँ जोड्ने गरी झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पुल निर्माणमा आफूहरू श्रमदान गर्न तयार रहेको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.