धनगढी। सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय अगाडि युवाहरुले लास आन्दाेलन गरेका छन् । कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने सडक निर्माणको काम वर्षौंदेखि अलपत्र पारिएको विरोधमा बिहीवार युवाहरुले उक्त शैलीमा प्रदर्शन गरेका हुन् ।
‘बोलन्या थली’ अभियानको आयोजनामा युवाहरु सेतो कपडा ओढेर लामतन्न परेर सुतेर प्रदर्शन गरेका हुन् । विहीबार करिब एक घण्टासम्म युवाहरुले प्रदर्शन गरेका थिए । अभियानका संयोजक यादव जोशीले सडक निर्माण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘लास आन्दोलन’ गरेको बताए । ‘सडक मृत्यु मार्ग जस्तै छ । ज्यानको असुरक्षा छ, त्यसैले सरकारको ध्यानाकर्षण गराउन लास आन्दोलन गरेका हौं,’ उनले भने ।
कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने करिब २८ किलोमिटर सडक करिब एक दशकदेखि निर्माण अलपत्र छ । बाटो बनाउने ठेक्का नागार्जुन कन्स्ट्रक्सनले लिएको भएपनि सडक निर्माण सम्पन्न नहुँदा डोटीको बुडर हुँदै लामो र घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता छ ।