काठमाडौं । प्रतिनिधिसभा सदस्यकाे सफथ लगत्तै बसेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठकले नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेको छ । दलको निर्णयसँगै उनी भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका छन् ।
पार्टीले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको स्रोतले जनाएको छ । त्यसअघि भने मन्त्रीहरूको नाम टुंग्याउन पार्टीभित्र उच्चस्तरीय छलफल सुरु भएको छ । सोहीअनुसार, पार्टी सभापति रवि लामिछाने र दलका नेता शाहबीच मन्त्री छनोटबारे छलफल चलिरहेको छ ।
बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठक सकिएपछि दुवै नेता एउटै गाडीमा बाहिरिएका थिए । स्रोतका अनुसार मन्त्रीको नाम टुंग्याउन दुई नेताबीच मात्रै गोप्य छलफल भइरहेको छ । तर उक्त छलफल कहाँ भइरहेको छ भन्ने सार्वजनिक गरिएको छैन ।
पार्टीका केही नेताहरूका अनुसार हालसम्म मन्त्रीहरूको नाम अन्तिम रूपले तय भइसकेको छैन ।