रास्वपाका ६, नेकपाका ३ सहित सुदूरपश्चिमबाट ११ जना प्रतिनिधिसभा सांसद बन्दै

धनगढी । प्रतिनिधिसभा सदस्य चुनावअन्तगर्त थ्रेसहोल्ड कटाएर समानुपातिकमा सिट पाएका सबै राजनीतिक दलहरूले बन्दसूचीमा रहेका नाम छानेर निर्वाचन आयोगमा बुझाएका छन् । आयोगमा दलहरूले बुझाएको सूचीमा नेकपाका ३ सहित सुदूरपश्चिमबाट ११ जना प्रतिनिधिसभा सांसद बन्दैछन् ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमबाट ६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ३ तथा नेपाली कांग्रेस र एमालेले १ र१ जनालाई सांसद बनाउन आयोगलाई नाम पठाएको छ । प्रत्यक्षमा प्रदेशमा रहेका १६ मध्ये १० सिटमा जित निकालेको (रास्वपा) समानुपातिकमा सुदूरपश्चिमका ६ जनालाई समेटेको छ । खसआर्य महिलाको पहिलो नम्बरमा कञ्चनपुरकी प्रतिभा रावल, डडेल्धुराकी आकृती अवस्थी, अछामकी टीका संग्रौला र रत्ना थापा छिन् ।

संग्रौला र थापा पिछडिएको क्षेत्रबाट सांसद बन्न लागेका हुन् । यस्तै, थारु महिला क्लस्टरबाट रास्वपाले कैलालीकी करिश्मा कठरिया र कञ्चनपुरकी गीता चौधरीको नाम पनि समेटेको छ । प्रत्यक्षमा निल भएको नेकपाले भने सुदूरपश्चिमबाट समानुपातिकमा ३ जनालाई सांसद बनाउने भएको छ । थारु महिलामा कञ्चनपुरकी निराशा चौधरी, अपाङ्गतामा कैलालीका प्रेम बयक र दलित क्लस्टरमा बझाङका गणेशबहादुर बिकलाई नेकपाले सांसद बनाउन निर्वाचन आयोगलाई नाम पठाएको हो ।

प्रत्यक्षतर्फ प्रदेशभर ३/३ सिट जितेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले भने समानुपातिकका सुदूरपश्चिमका १/१ जनालाई मात्रै सांसद बनाउने भएका छन् । कांग्रेसले दलित महिलाको क्लस्टरबाट डडेल्धुराकी हरिनादेवी कामी र एमालेले थारु क्लस्टरबाट कञ्चनपुरका कृपाराम रानालाई सांसद बनाउन आयोगमा नाम पठाएको छ ।

थ्रेसहोल्ड कटाएका अन्य दलबाट भने सुदूरपश्चिमका कसैको नाम पनि समानुपातिक सूचीमा अटाएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.