धनगढीमा झडप: इन्स्पेक्टर र असई घाइते, १२ जना पक्राउ

धनगढी । होलीको रमाइलो माहोल मंगलबार साँझ धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा एकाएक तनावमा बदलियो। दुई टोलका युवाबीच पुरानो रिसइवीको निहुँमा सुरु भएको विवाद उग्र बन्दै ‘ग्याङ फाइट’ मा परिणत हुँदा स्थिति नियन्त्रणबाहिर पुगेको थियो।

झडप नियन्त्रणका क्रममा सिभिल पोशाकमा खटिएका प्रहरी इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउद घाइते भएका छन्। दुवैजनाको सेती प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार असई साउदको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार झडप नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गर्नुपरेको थियो। घटनामा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ।

कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । झडपका क्रममा केही अन्य व्यक्तिहरू पनि घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनमा सामान्य क्षति पुगेको छ। स्थिति थप जटिल हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थिय ।

हाल जिल्ला प्रहरी कार्यालयको डीएसपीको कमाण्डमा विशेष सुरक्षा टोली घटनास्थलमा खटिएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न अपिल गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.