सडक क्षेत्राधिकारमा धनगढीका जनप्रतिनिधिकाे मनपढी !

धनगढी। धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार दश मिटरबाट घटाएर पुनः आठ मिटर कायम गर्ने निर्णय गरेको छ। नगरसभाको आइतबार बसेको बैठकले जग्गा ‘प्लटिङ’ सम्बन्धी यसअघिको कार्यविधि संशोधन गर्दै सडक क्षेत्राधिकार अव आठ मिटर कायम गर्ने प्रस्ताव पारित गरेको हो।

नगरसभा सदस्य एवं वडा नं १३ का अध्यक्ष विजय जोशीले सडक क्षेत्राधिकारमा एकरुपता कायम गर्न कार्यविधि संशोधन गरेर आठ मिटर कायम गर्ने प्रस्ताव पारित भएको जानकारी दिए। उनले भने, ‘यसअघिको कार्यविधिमा तोकिएको सडकको क्षेत्राधिकारले नागरिकहरु गुनासो गर्दै अदालत धाउन थालेकाले भविष्यलाई लक्ष्य गरेर कार्यविधि संशोधन गरेर यो प्रस्ताव पारित गरिएको छ।’

जग्गाको अंशबन्डा गर्दा र व्यावसायिक रुपमा प्लटिङ गर्दाको सडक क्षेत्राधिकारमा एकरुपता ल्याउन कार्यविधि संशोधन गर्नुपरेको हो। दुई वर्षअघिको बैठकले १० मिटर चौडा सडक क्षेत्राधिकार कायम गर्नेगरी जग्गा प्लटिङसम्बन्धी कार्यविधि पारित गरेको थियो। सडकको क्षेत्राधिकार अनावश्यक रुपमा बढी भएको भन्दै कतिपय जनप्रतिनिधिले असहमति जनाउँदा निर्णय कार्यान्वयनको चरणमा लैजान विवाद उत्पन्न भएको थियो।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपलिका क्षेत्र तीव्र रूपमा सहरीकरण भइरहेको छ। सीमावर्ती व्यापार, बसाइँसराइ र सेवा केन्द्रका रूपमा विकास हुँदै जाँदा सडक पूर्वाधारको दीर्घकालीन योजना आवश्यक हुन्छ। तर, कतिपयले नगरपालिकाले बर्षदिनमै गर्ने यस्ता परिवर्तित निर्णायले आफ्नालाई परेकाे बेला जाेगाउने खेल भैरहेकाे आक्षेप लगाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.