धनगढी । राैतहटमा लगाइएकाे कर्फ्यू हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १०:०० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कफ्र्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार हटाइएको उल्लेख छ।
गत ७ गते दुई समुदायबीच झडप भएपछि रौतहट तनावग्रस्त बनेको थियो । प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनपछि अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै कर्फ्यू हटाइएको जनाएको छ । उता पर्साकाे वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर–मुर्ली चौक क्षेत्रमा युवाहरुको दुई समूहबीच विवाद हुँदा आइतबार रातिदेखि तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले आज बिहानैदेखि महानगरभित्र कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले सामान्य गाडी पार्किङको विषयलाई लिएर युवाहरूबीच विवाद भएको र त्यसले केहीबेर तनावपूर्ण अवस्था सिर्जना गरेको जानकारी दिए । ‘सवारी पार्किङको विषयमा युवाहरूबीच विवाद हुँदा ढुंगामुढा भएको थियो, अहिले अवस्था नियन्त्रणमा छ’, उनले भने ।
स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु लागू गरिएको हो ।