बिपी काँग्रेसबाट फर्किन नेता कार्यकर्तालाई डडेल्धुरा काँग्रेसकाे आह्वान

धनगढी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले पार्टीका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेतालाई पार्टीमा फर्कन आह्वान गरेको छ । जिल्ला सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गर्दै पार्टीमा फर्केर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार नैनसिंह महरलाई जिताउने अभियानमा लाग्न आह्वान गरेका हुन् ।

जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन पार्टी सभापति मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई बिपी काँग्रेसबाट फर्केर नेपाली कांग्रेसमा समाहित हुन साउदले आह्वान गरेका हुन् ।

अपिलमा अहिलेको अवस्थामा लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ। पार्टीले ताजा जनादेशलाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जिल्ला अधिवेशनमा बाहिर राखिएको भन्दै मल्लसहितका नेताहरु बीपी काङ्ग्रेसमा गएका थिए ।

बीपी काङ्ग्रेसबाटै मल्ल ०७९ सालमा पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध निर्वाचन लड्दै तेस्रो भएका थिए । आसन्न निर्वाचनमा भने बीपी काङ्ग्रेसले उम्मेदवार उठाएको छैन । केही दिनअघि मल्लले भेला बोलाएर एकताका लागि अगाडि बढ्न मल्लले आह्वान गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.