चितवन । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरू कुनै विकल्प नभएको भन्दै अन्य विकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने बताएका छन्। शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।
प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका छन् । निर्वाचनको मुखमा ठुलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ । प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे ।
प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण सुरु गरिसकेको बताए । कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालले जीर्ण भवनबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताइन् । उक्त ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको महानगरले जनाएको छ ।