काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले संविधान कानुन, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने बताएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन गरी संविधान र कानुनविपरीत निर्णय भएमा आफूहरूले देशभर आन्दोलन गर्ने बताएका हुन् ।
‘निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्छ,’ खडकाले भने । ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’
उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए ।