काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचनका लागि सबै पदमा उम्मेदवारी दर्ता भएको छ। बुधबार बिहान ११ बजेसम्म मनोनयन फारम वितरण र उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ । सबै पदमा उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए।
सबै पदमा उम्मेदवारी परेको र दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशन तयारी छ,’ उनले भने, ‘सकेसम्म सर्वसम्मत गर्ने कुरा छ, यो राजनीतिक पाटो भयो।’
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन ।