धनगढी । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा आजदेखि बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुदैछ। देवभूमि प्रवेशद्वारका रूपमा परिचित गोदावरी नगरपालिका–४ स्थित धाममा बुधबार लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेलाकाे सुरुवात हुने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।
मकर मेलाको बुधबार दिउँसो १ः०० बजे धार्मिक विधि–विधानअनुसार विशेष पूजाआजासहित मेला शुभारम्भ गरिने उनले जानकारी दिए। माघ १२ गतेसम्म सञ्चालन हुने उक्त मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजनकीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन्।
मेलाको शुभारम्भ कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका साथै श्रद्धालुहरूको सहभागिता रहने बताइएकाे छ। धार्मिक अनुष्ठान अवधिभर देशभरका श्रद्धालु, विभिन्न सामाजिक र धार्मिक सङ्घसंस्थाको सहभागिताका लागि निम्ता तथा आवश्यक प्रचारप्रसार भइरहेको विकास समितिले जनाइएको छ।