डडेल्धुरा। डडेल्धुराको पर्शुराम नगरपालिकामा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीमा जोगबुढा–दैजी सडकखण्ड अन्तर्गत शनिबार साँझ भएको हो।
जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परशुराम नगरपालिका–१२ पन्तुराका २७ वर्षीय नबिन साउद र मोटरसाइकलको पछाडि सवार परशुराम नगरपालिका–१२ जोगबुढा बस्ने ३५ वर्षीय मान जाग्रीकाे मृत्यु भएकाे हाे।
गम्भीर घाइते उनीहरुलाई जोगबुढा अस्पताल पुर्याइएको भएपनि उपचारका क्रममा साँझ करिब ७ः२० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्। मृतक मान जाग्री ग्रिन भ्याली बोर्डिङ स्कुलमा शिक्षकको रूपमा कार्यरत थिए। दुर्घटनापछि ट्र्याक्टर चालक डडेल्धुरा सतघाट घर भई हाल परशुराम नगरपालिका बस्दै आएका ३२ वर्षीय सुरेश भट्ट फरार रहेका छन्। फरार चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट करिब ८ किलोमिटर दक्षिणतर्फ पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।