रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिम पुगेर नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन ।

पश्चिम रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै उनले विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दु:ख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए । यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन । उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए ।

२०६४ मा पहिलोपटक निर्वाचन लडेका प्रचण्डले हरेकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ मा भएको संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा २ र काठमाडौं १० बाट उम्मेदवार बनेका थिए । दुवै ठाउँबाट उनी विजयी भए । संविधानसभाबाट संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा उनी गृहजिल्ला चितवन २ बाट उम्मेदवार बने र विजयी पनि भए ।

२०७९ मा भएको निर्वाचनमा उनी गृहजिल्ला चितवन छाडेर गोरखा २ मा निर्वाचन लड्न गए । त्यहाँ पनि उनी विजयी बने । यसपटक उनलाई उम्मेदवार बन्न पार्टीका आधा दर्जभन्दा बढी जिल्लाबाट नाम सिफारिस भएका थिए । चितवन, गोरखा, कास्की, सिन्धुली, धादिङ, रुकुम पूर्वबाट उनको सिफारिस भएको थियो । उनी रुकुम पूर्वका लागि सकारात्मक बनेका खबर आइरहेका थिए ।

शनिबार उनले आफू रुकुम पूर्वबाटै आगामी निर्वाचन लड्ने घोषणा गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.