निर्वाचनकालागि डेढ लाख प्रहरीकाे भर्ना खुल्दै

धनगढी । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले (झण्डै डेढलाख) १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना खाेल्ने भएकाे छ । सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेकोले अबकाे एक/दुई दिनभित्रै  स्वीकृत मापदण्ड अनुसार निर्बाचन प्रहरीकाे भर्ना खाेल्न लागेकाे हाे ।

१० दिन तालिम र ३० दिन कार्यस्थलमा खटिने गरी निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो ।

भर्ना हुने म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायत सेवा सुविधा उपलब्ध गराइनेछ । रासन सुविधा सम्बन्धित जिल्लाको दररेटअनुसार दिइनेछ । रासन, मासिक तलब र पोसाकबापतको खर्च सम्बन्धित व्यक्तिकै बैंक खातााम उपलब्ध गराइनेछ । म्यादी छनोटपछि आउने र जाने तयारी खर्चअन्तर्गत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ, ४ दिनको खाजा खर्च एकमुष्ट १२ सय दिइनेछ ।

पोसाक भत्ता हिमाल, पहाड र तराई/मधेशअनुसार फरक फरक हुने उल्लेख छ । नेपाल प्रहरीका लागि नीलो डांग्री कपडा, टोपीसहितको हुनेछ । सशस्त्र मातहत खटिने निर्वाचन प्रहरीको हकमा सशस्त्रको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी हुनुपर्नेछ । निर्वाचनमा नियमित सुरक्षाअन्तर्गत खटिने जनशक्तिलाई निर्वाचन प्रहरीलाई दिएसरह १२ सय रुपैयाँ खाजा खर्च दिइनेछ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति रहने मापदण्डमा उल्लेख छ । छनोटका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्रको हकमा सशस्त्रको जिल्लास्थित गण/गुल्ममा निवेदन दिन सकिनेछ । नियुक्तिका लागि दुवै प्रहरीले आफ्नो जवानसरहको पाठ्यक्रमका आधारमा छनोट विधि तय हुने मापदण्डमा उल्लेख छ ।

१८ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसले भर्नाका लागि आवेदन दिन सक्नेछन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन प्रहरी भर्नासम्बन्धी मापदण्ड स्वीकृत गरी दुवै प्रहरी प्रधान कार्यालयलाई पठाइएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.