काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संघीयतालाई स्वीकार गरेर अघि बढ्न सबै पक्षबीच सहमति भएको छ । रास्वपाको रवि लामिछाने पक्षले विगतदेखि प्रदेश संरचनाप्रति विमति राख्दै आएको थियो । जुन विषयमा उज्यालो नेपाल पक्षका नेताहरूले स्पष्टताको आवश्यकता औंल्याएका थिए ।
दुवै पक्षका नेताबीच शनिबार राति र आइतबार बिहान भएको वार्तापछि यो एजेन्डामा एकमत भएर अघि बढ्ने सहमति जुटेको हो । पुस १४ मा पार्टी एकता भएपनि एजेन्डामा सहमति भएको थिएन । आज सहमति भएपछि विवाद सकिएको नेताहरूले दाबी गरेका छन् । एकता भएपनि उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ पक्षका नेताहरूले एजेन्डामा विमति जनाउँदै आएका थिए ।
‘अब एजेन्डाको विवाद सकियो । मुद्दामा विवाद थियो त्यो पनि सकियो । हिजो राति र आज बिहान बसेर टुंगो लगाएका छौं,’ तत्कालीन उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम लामाले भने । संघीयतालाई सबैले स्वीकार गर्न सहमत भएको उनले बताए ।
‘संघीय संरचना मानेर जाने, गणतन्त्र र संविधान स्वीकार गर्ने सहमति भएको छ,’ लामाले भने । उज्यालो पार्टीका नेताहरूले यि विषयमा रास्वपाले स्पष्ट पार्नुपर्ने माग राखेका थिए ।