धनगढी। विगतमाझैं सुदूरपश्चिमकाे धनगढीमा राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस मनाइएको छ। सुदूर नेपाल संस्कृति सेवा समाजले धनगढीमा प्रभातफेरी निकालेर दिवस मनाएको हो।
धनगढी चौराहाबाट सुरू भएको र्याली लक्ष्मीनारायण मन्दिरमा पुगेर समापन भएको थियो। राष्ट्रिय ढाका टोपी दिवसको अवसरमा प्रदेश प्रमुख नजिर मियाँ, धनगढीका नगर प्रमुख गोपाल हमाल, उप-प्रमुख कन्दकलाकुमारी राना र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई टोपी उपहार दिइएको थियो। समाजका अध्यक्ष हेम अधिकारीले ढाका टोपी नेपालीको पहिचान र शान भएको बताएका छन्। उनले शिरमा टोपी लगाउन प्रेरणा मिलोस् भनेर दिवस हरेह वर्ष पुस १७ गतेका दिन दिवस मनाउने गरेको बताए।
दिवसको अवसरमा प्रदेश प्रमुख मियाँ, नगर प्रमुख हमालले शुभकामना दिँदै सुदूर नेपाल संस्कृति सेवा समाजको कामको प्रशंसा गरे। धनगढीकी कोपिला कुँवरले ढाका टोपी लगाउने मान्छे घट्न थालेकाले नयाँ पुस्तालाई टोपी लगाउन प्रेरित गर्न दिवस मनाउनु परेको बताइन् ।
समाजका महासचिव जोम अधिकारीले संस्कृति र परम्पराको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न समाजले विभिन्न कार्यक्रम गर्दै आएको बताए। उनले टोपी लगाउने संस्कार र चलनको जगेर्ना गर्न दिवस मनाउने गरेको बताए।