पश्चिम तराईमा अझैं केही दिन बाक्लो हुस्सु लाग्ने

धनगढी । केही दिनदेखि चिसाे बढ्दै गएकाे पश्चिम तराईका क्षेत्रमा अझैं केही दिन घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले चिसो बढ्दै गएकाले स्वास्थ्य र यात्रामा ध्यान दिन सुझाएकाे छ।

मौसमविद् सरोज पुडासैनीले धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो दिन’ को अवस्था सिर्जना भएको बताए । पुडासैनीका अनुसार डिसेम्बर २३ हिजो धनगढीको अधिकतम तापक्रम मात्र १३.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जबकि त्यहाँको यो समयको सरदर अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस हो । बुधवार आज पनि देशभरका तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

तराई मधेशका अधिकांश क्षेत्रमा भिजिबिलिटी पारदर्शिता १ किलोमिटर भन्दा कम रहेको छ । सरदरभन्दा करिब ९ डिग्री सेल्सियसको गिरावट आएपछि स्थानीयको दैनिकी नै प्रभावित भएको छ । पश्चिम तराईमा हिजो दिनभरि नै घाम लाग्न सकेन, आज पनि अवस्था त्यस्तै हुने पूर्वानुमान छ । तराई मात्र नभई पहाडी क्षेत्रका खोँच, उपत्यका र नदी तटीय क्षेत्रहरूमा पनि हुस्सु लागेको पुडासैनीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.