धनगढी। बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि सुदूरपश्चिम तराईकाे जनजीवन प्रभावित भएकाे छ । मंसिरसम्म सफा रहेकाे माैसम पुस महिना लागेकै दिनदेखि कैलाली कञ्चनपुरमा बिहानैबाटै लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा समान्य जनजीवन प्रभावित भएकाे हो ।
बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा विभिन्न शिविरमा बसोबास गर्ने प्रकाेप पीडित विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् । चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको स्थानीयको भनाइ छ । हुस्सु र कुहिरोका कारण बिहानको समयमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । बस चालक राजेन्द्रबहादुर ऐरका अनुसार दृश्यता (भिजिबिलिटी) अत्यन्त कम हुने भएकाले सवारी चलाउन जोखिम बढेको छ ।
चिसोका कारण बिहानै विद्यालय जाने बालबालिका कठ्याङ्ग्रिने गरेका छन् । बाक्लो कुहिरो र चिसो हावाले विद्यार्थीलाई विद्यालय जान समस्या भएको अभिभावकको गुनासो छ । हुस्सु र कुहिरोले किसानलाई पनि असर गरेको छ । खेतबारीमा लगाइएका तरकारी बालीमा डढुवाको प्रकोप देखिन थालेको किसानले बताएका छन् ।
कैलारीका किसान रामप्यारा चौधरीका अनुसार आलु र गोलभेडाखेतीमा डढुवाको समस्या देखिन थालेको छ । “लगातार हुस्सु र चिस्यानका कारण बालीमा रोग फैलिन थालेको छ”, उनले भने । स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल धाउने बिरामीको संख्या बढ्दो छ । “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट बढी प्रभावित देखिएका छन्”, उनले भने ।