काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् ।
फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुँदैछ । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।
यसअघि पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ । सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् ।
यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको हाे । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।