धनगढी । धनगढी उप–महानगरपालिकाले अपाङ्गता भएका ब्यक्तिकालागि सहायक सामग्री वितरण गर्न स्क्रिनिङ्ग शिविर सुरु गरेकाे छ । विगतमाझैं खोजी–खोजी अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने अभियान अन्तर्गत क्लस्टर अनुसारको स्क्रिनिङ्ग शिविर सुरु गरेकाे उपमहानगरले जनाएकाे छ।
सो अभियान अनतर्गत शुक्रबार धनगढी–१९ फुलवारी स्वास्थ्य चौकीमा स्क्रिनिङ्ग शिविर सम्पन्न गरेको छ। उक्त शिविरमा ३७ जना महिला र २५ पुरुष तथा ५ जना बालबालिकासहित ६७ जनाले सेवा लिन नाम र नाप दिएका छन्। यसअघि मंसिर २५ गते फुलवारी स्वास्थ्य चौकी–१९ मा शिविर सम्पन्न भइसकेको छ। मंसिर २६ गते धनगढी–१६ उर्मा स्वास्थ्य चौकी, २८ गते वडा नं. १२ जुगेडा, २९ गते वडा नम्बर १३ कैलालीगाउँ शहरी स्वास्थ्य केन्द्रमा र पुस १ गते धनगढी उप–महानगरपालिका प्राङ्गणमा शिविर सञ्चालन हुने बताईएकाे छ।
उप–महानगरपालिकाका अनुसार सबै शिविर बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री प्राप्त गर्न सहज बनाउने उद्देश्यले यस्ता शिविरलाई निरन्तरता दिँदै जाने नगरप्रमुख हमालले जानकारी दिएका छन्।
उप–महानगरपालिकाले ह्विलचेयर, वाकर, स्टिक, हियरिङ्ग एडलगायत सामग्री आवश्यकताअनुसार उपलब्ध गराउँदै आएको मेयर हमालले जानकारी दिएका छन्।